नेपालमा इमर्जेन्सी लाग्यो, हट्यो। फेरि लाग्यो फेरि हट्यो। तर त्यस इमर्जेन्सीले ल्याएको कडिकडाउ भने हटेन। हिन्दीमा 'रस्सी जल गई ऐंठन नहीं गई' भने जस्तो। सबैलाई याद भएकै कुरा हो इमर्जेन्सी लागू हुनासाथ बालुवाका बोराका बङ्करहरू उमि्रए, चेकपोस्ट थपिए, सुरक्षाजाँच थपियो। काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थल पस्ने मुखमा सुरक्षाचौकी त्यसै बेलादेखि थपिएको हो। त्यसलाई सेनाका जवानहरूले पहरा दिने गरेका छन् र त्यहाँबाट गुज्रने मानिस र गाडीहरूको खानतलासी गर्ने काम पनि उनीहरूले नै गर्दै आएका छन्।
हातमा हवाईजहाजको टिकट भएको मानिस मात्र त्यहाँबाट छिर्न पाउँछ। टिकट नहुने मानिस जान पाउँदैन। यात्रुलाई पुर्याउन वा लिन जान कसैले पाउँदैन। यात्रुबाहेक ट्याक्सी वा गाडीको चालकले सम्म जान पाउँछ, बस् त्यत्ति हो। एउटा हात बन्दुकको घुँडाछेउ नै राखेर अर्को हातले टिकट जाँच्ने काम हुन्छ। अनि सोधपुछ गरिन्छ। बडो कडिकडाउ छ सैनिकको सुरक्षा बन्दोबस्त।
नेपालमा हवाईसेवाको हविगत के छ त्यो सबैलाई थाहा छ। समयमा उड्ने जहाज कम्पनीहरू घरेलु मात्र होइन विदेशीहरू पनि कम छन्। रातविरात उडान हुन्छ 'डिले' भएर। आज 'चेक इन' गरेर एक हप्तामा गन्तव्यमा पुर्याउने हवाईसेवा कम्पनीहरू पनि यहीँ छन्।
जहाज समयमै उडेको अवस्थामा पनि कतिपय यात्रुहरूलाई विमानस्थल पुर्याइदिनुपर्ने हुन्छ। अशक्त, अवला, नाबालक हुन्छन्, उनीहरूलाई सहयोग चाहिन्छ। सरसामान र पोको पुन्तरोको भारी हुन्छ। कति त जिन्दगीमा पहिलोपटक हवाई यात्रा गरिरहेका हुन्छन्। कति विद्यार्थीहरू पढ्न र कोही काम गर्न विदेश गइराखेका हुन्छन् अथवा विदेशबाट फिर्ता आइरहेका हुन्छन्। आमाबाबुलाई, परिवारलाई, आफन्तलाई एयरपोर्टसम्म गई पुर्याउन वा स्वागत गर्न मन हुन्छ।
तर सुरक्षा अवधारणामा ती सबै मानवीय र व्यावहारिक कुराका लागि ठाउँ हुँदैन। त्यसैले यात्रुलाई पुर्याउन वा लिन जाने आफन्तजनहरू एयरपोर्ट छिर्ने मूल प्रवेशद्वार अघिल्तिरको सडकछेउ कुँडुलो परेर बसेका देखिन्छन्। पहिले त यसै घाममा सेकिएर वा पानीमा रुझेर बस्नुपर्थ्यो प्रतीक्षार्थीहरूले। अहिले भला एउटा ओतसम्म छ। त्यहाँ आउने–जाने फ्लाइटको सूचना दिने टीभी मोनिटर पनि राखिएको छ, तर नामको लागि। त्यसले काम गर्नुभन्दा बिग्रन जानेको छ।
बडो बिजोकसँग कुर्छन् बरा प्रतीक्षार्थीहरू आफ्ना आफन्तको आगमनलाई। त्यहीँबाट आफ्नो मान्छे ट्याक्सी भित्र छिरेको हेरेर चित्त बुझाउँछन्।
को जान पाउँछ, को जान पाउँदैन कसैलाई थाहा छैन। प्रवेशसम्बन्धी नियम के छन् र ती कसले बनाएका हुन् तिनको जानकारी पनि कसैलाई छैन। जाँच्ने सेनाको मुड भए कोही छिरी पनि हाल्न सक्छ।
कि अघिबाटै प्रवेशपत्र लिनुपर्ने व्यवस्था गर्नु। कि दुई जना कर्मचारी राखेर प्रवेश शुल्क लिने गर्नु। कि परिचयपत्र लिएर पास दिने गर्नु। केही त व्यवस्था गर्नु। सुरक्षाको नाममा जनतालाई यस्तो हेपाहा व्यवहार गर्नु त सभ्य संसारमा नमिल्ने हो।
कसैले जहाज नै पड्काउला भन्ने डर छ भने हवाई यात्रा नै बन्द गरिदिनु नि, किन चलाइराख्नु?
Interesting article - how many have faced this problem and got angry over the whole security situation.....