नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेशीहरूले उठाइरहेका मागहरू प्रति समर्थन जनाएका छन्।
तर उनले आन्दोलनरत सबै पक्ष वार्ता गर्न लायक नभएको बताए।
उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बुधबार राष्ट्रका नाममा गरेको सम्वोधन अपर्याप्त र अपूर्ण रहेको टिप्पणी गरे।
प्रचण्ड माओवादीका अन्य वरिष्ठ नेताहरूका साथमा बिहिवार काठमाण्डौमा आयोजित एउटा पत्रकार सम्मेलनमा आफ्ना सुरक्षादस्तासहित उपस्थित भएका थिए।
पत्रकारहरूलाई संबोधन गर्दै उनले भने, 'मधेशी जनताका संघीय लोकतान्त्रिक शासन व्यवस्था र समानुपातिक निर्वाचन प्रणालीसंग सम्वन्धितमाग जायज छन् र त्यस आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ।'
तर उनले मोरङको एक प्रहरी चौकीमा बुधवार विगतका माओवादी आक्रमणकै शैलीमा गरेको सशस्त्र कारवाहीप्रति असहमति जनाए।
यदि देशको सुरक्षा स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेमा नेपाली सेनाका साथसाथै शिविर प्रवेश गरीसकेका माओवादी लडाकुसमेत परिचालन गर्न सकिनेछ
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड
'हामीले त्यसरी तरबारले हत्या गरी कसैलाई पोखरीमा फालेका छैनौं। हामीले गल्ती गरेका बेला सिधै स्पष्ट रुपमा हाम्रो तर्फबाट गल्ती भयो भनेर कारवाही गरेका थियौं। अहिले जसले त्यो गरेका छन्, तिनले त्यसो गरेको भनेका छन् तर त्यहाँ गल्ती भएको कुने सूचना छैन।'
आरोप
प्रचण्डले मधेशमा भएका हिंसात्मक घटनामा संयुक्त राज्य अमेरिका र भारतीय हिन्दु अतिवादी संगठनहरूको हात रहेको आरोपसमेत लगाए।
नेकपा माओवादीबाट फुटेर गएका तराई जनतान्त्रिक मुक्ति मोर्चाका दुई गुटहरूतर्फ संकेत गर्दै उनले भने, 'त्यस्ता पक्ष वार्ताका लायक छैनन्।'
एउटा प्रश्नको जवाफमा प्रचण्डले भने, 'यदि देशको सुरक्षा स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेमा नेपाली सेनाका साथसाथै शिविर प्रवेश गरीसकेका माओवादी लडाकुसमेत परिचालन गर्न सकिनेछ।'
तर उनले भने,'त्यस्तो कदम आठ दलको समझदारीमा मात्र चालिनेछ।'
पत्रकार सम्मेलनमा अर्का माओवादी नेता बाबुराम भट्टराईले तराईमा बढेको तनाव र ध्वंसलाई प्रसव वेदनासंग तुलना गरेका थिए।
उक्त भनाईप्रति संकेत गर्दै प्रचण्डले भने, 'अब जन्मिन लागेको नयाँ बालकलाई प्रतिगामीहरूलेसमेत दाबी गरिरहेको स्थिति छ।'
Source :http://www.bbc.co.uk/nepali/news/story/2007/02/070201_prachandapress.shtml