प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लोकतान्त्रिक राज्यव्यवस्था स्थापनाको ऐतिहासिक चरणका राष्ट्राध्यक्षसमेत हुन् । उनको व्यक्तित्व र आचरणले मुलुक निर्माण र संक्रमणकालीन विधि विधान कायम गर्न अहम् भूमिका निर्वाह गर्छ । इतिहास निर्माणको चरणमा स्थापना गरिने मूल्य मान्यताले देशमा राष्ट्रिय भावना विकसित गर्न तथा आमनागरिकलाई दिशाबोध गराउन महत्त्वपूर्ण सघाउ पुर्याउँछ ।
एकातिर शान्ति सुव्यवस्था कायम गर्न, नीति-नियम पालना गराउन र बृहत संवादमार्फत दिगो शान्ति स्थापित गर्ने ऐतिहासिक अभिभारा प्रधानमन्त्रीको काँधमा छ भने अर्कातर्फ नागरिकहरूलाई आत्मसम्मान र स्वाभिमानपूर्ण तरिकाले सामाजिक तथा राष्ट्रिय योगदान गर्न उत्प्रेरित गर्ने चुनौती छ । राष्ट्र तथा सरकार प्रमुखको ऐतिहासिक जिम्मेवारी बहन गरिरहेका हुनाले उनको कार्यसम्पादनमा संस्थागत र सम्मानजनक चरित्र नयाँ नेपाल निर्माणमा अपरिहार्य छन् ।
प्रधानमन्त्री कोइरालाले शनिबार एउटा संस्थाका तर्फबाट ग्रहण गरेको सम्मान भने उनको आत्मसम्मानका लागि जति सन्देहपूर्ण छ, त्यसले कायम गर्ने मूल्य मान्यता आमनेपाली नागरिकका लागि उत्तिकै लघुताबोधपूर्ण समेत छ । उनले आफ्ना लागि समेत उक्त सम्मान शोभनीय नभएको स्वीकारोक्ति सम्मान ग्रहण समारोहमा दिएको सम्बोधनमा प्रकट गरे पनि त्यसबाट स्वाभिमानी नेपाली नागरिकमा पर्ने असरप्रति उनले होसियारी नपुर्याएको प्रस्ट छ ।
कोरियाका एकजना विवादास्पद व्यक्तिको नेतृत्वको एउटा धार्मिक पन्थद्वारा सञ्चालित युनिभर्सल पिस फाउन्डेसनले दिएको ँनेतृत्व तथा सुशासन पुरस्कार’ स्वीकार गर्नुअघि आयोजक संस्थाबारे प्रधानमन्त्रीको कार्यालयले न्यूनतम खोजबिनसमेत नगरेको आभाष हुन्छ । संयुक्त राज्य अमेरिका, जर्मनी र जापानमा कर छली प्रकरणमा झूठा प्रमाण प्रस्तुत गरेको सहितका मुद्दामा दोषी ठहर भएका, अमेरिकामै एक वर्षभन्दा बढी जेल परेका, अत्याधुनिक हतियार बिक्री गर्ने विवादमा मुछिएका व्यक्तिले हाँकेको संस्थाको पुरस्कार नेपालमा लोकतन्त्र र मानव अधिकारका लागि आजीवन संघर्षरत राजनेताको सम्मान पक्कै होइन ।
फाउन्डेसनले सित्तैमा कोरिया घुमाएर कृतज्ञ बनाएका थुप्रै नेपाली पदाधिकारी तथा नेताहरू उपस्थित भएको कार्यक्रममा प्रधानमन्त्रीले आफू आफ्नी छोरी सुजाताका कारण सम्मान थाप्न राजी भएको रहस्य पनि खोलेका छन् । यसले एउटा गम्भीर प्रश्न के उठाएको छ भने ऐतिहासिक अभिभारा भएका प्रधानमन्त्री आफ्नो परिवारको पछिल्लो ढोकाबाट सञ्चालित हुने गतिविधिबाट बहकाउमा पर्ने गरेका छन् । प्रधानमन्त्रीले कुनै व्यक्तिगत सम्बन्धका कारण भावनाको कैदी भएर कुनै औपचारिक निर्णय गर्न मिल्दैन । यस्तो औपचारिक निर्णय गर्न सर्वप्रथम प्रधानमन्त्री कार्यालयको सहयोग लिनुपर्छ । कुनै पुरस्कार वा सम्मान बुझ्ने/नबुझ्ने निधो गर्न र सम्मान दिने संस्थाको पृष्ठभूमिबारे बुझ्न सिंहदरबार कार्यालय जिम्मेवार हुनुपर्छ ।
प्रधानमन्त्रीले फेरि पनि कुनै निर्णय संस्थागत तवरमा नगर्ने, प्रधानमन्त्री कार्यालयलाई जिम्मेवार नबनाउने हो भने यस्तै खालको भावुकतामय आचरणको सिकार भइरहनेछन् । राजा, महाराजाहरूले दिएका सम्मान आजीवन अस्वीकार गर्दै आएका संघर्षशील राजनीतिक नेता यस्तो सन्देहास्पद सम्मानका हकदार होइनन् । प्रधानमन्त्री कोइराला सुजाता कोइरालाका पितामात्र होइनन्, यो देशका स्वाभिमानी नागरिकहरूका प्रधानमन्त्री र यो ऐतिहासिक कालखण्डमा राष्ट्रप्रमुखसमेत हुन् । उनको सम्मान आमनागरिकको आत्मसम्मानसँग समेत जोडिएको उनको परिवारले वास्ता नगरे पनि प्रधानमन्त्री कार्यालयले बिर्सन मिल्दैन ।
courtesy: kantipur