धनमती डायरी
मृत्युदण्डको सजाए पाएर जेल बसिरहेका पति अमर छुटाउन यो साता दार्चुलाकी धनमती बम राजधानी आइपुगिन् ।
काठमाडौ, वैशाख ३१ - दार्चुलाबाट हिँडेको दुई दिनपछि आफ्ना ६४ वर्षीय ससुरा कर्णबहादुर बमका साथ धनमती (धनिसा) शुक्रबार मध्यरात ११ बजे कलंकीमा झरिन् । चामल लिन ५ घन्टा हिँडेर खलङ्गासम्म आउने-जाने गरेकी धनमतीका लागि काठमाडौंको यात्रा पहिलो थियो । कर्णबहादुरचाहिँ ३५/३६ सालतिर एकपटक काठमाडौं घुम्न आएका थिए । ९ वर्षदेखि यूएईमा मृत्युदण्डको सजाय पाएर जेल बसिरहेका ३४ वर्षीय पति अमरको जीवन रक्षाका लागि सरकारसमक्ष आफ्नो कुरा राख्न धनमती काठमाडौं आएकी थिइन् ।
शनिबार बिहान आफू बसेको सुन्धारास्थित न्यू महाकाली होटलबाट बाहिर निस्कँदा दुवैजना भीडभाडमा परे । ठूलाठूला भवन, मान्छेहरूको भीड, सडकमा लामबद्ध ट्याक्सी देखेर धनमतीलाई नौलो लाग्यो । कर्णबहादुरले पनि तीमध्ये चिनेको सुन्धाराको बीचमा रहेको धरहरा मात्रै थियो । त्यस दिन धनमतीले आफ्नो लागि १६ सय रुपैयाँमा कुर्ता सुरुवाल किनिन् । चिनजानका कृष्ण बमले उनीहरूलाई सुन्धारा, वसन्तपुर र न्युरोड घुमाइदिए । सहर घुमे पनि उनीहरूको मन अमिलै थियो । उनीहरू अमरको जीवन रक्षा गर्न कसलाई भेट्ने भन्नेर अन्योलमै थिए । त्यस दिन अमरसँग पनि फोन भयो । उसलाई 'तिम्रो जीवन बचाउन सरकारलाई गुहार्न काठमाडौं आएको खबर' कर्णबहादुरले भने ।
आइतबार बिहान अनामनगरको प्रवासी नेपाली समन्वय समिति पुगे । समितिका अध्यक्ष महेन्द्र पाण्डे, जेपी सापकोटा र राजेन्द्र कुँवरको सक्रियतामा त्यही कार्यालयमा 'अमर बचाउ अभियानको सचिवालय' स्थापना गरिएको थियो । दिउँसो तीन बजे पत्रकार सम्मेलनमा दुवैजना सहभागी भए । दार्चुलाका सभासद लक्ष्मणदत्त जोशी, कांग्रेस नेता दिलेन्द्र बडूलाई उनीहरूले त्यही भेटे । धनमतीले यति धेरै टेलिभिजनको क्यामरा कहिल्यै देखेकी थिइनन् । उनले त्यतिखेर भनिन्, 'मेरो विवाह गरेको २५ दिनदेखि श्रीमान्लाई भेट्न पाएको छैन । उहाँले ९ वर्षदेखि मृत्युदण्डको सजाय पाए पनि हामीलाई भनेको दुई वर्ष भयो । श्रीमान्लाई पर्खेर बसेको १० वर्ष भयो । उहाँको जीवन रक्षा गर्न सबैलाई अपिल गर्छु ।' कर्णबहादुरले पनि आफ्ना जनप्रतिनिधिसमक्ष भने, 'छोरो बचाइदिनुपर्यो हजुर । म तपाईहरूको पाउ पर्छु ।' त्यस दिन बेलुका टीभीमा दिउँसोको आपmनै पत्रकार सम्मेलन हेर्दै/रुँदै बसे ।
सोमबार बिहान ११ बजे सिंहदरबारभित्र छिर्न पाए । 'यो देशलाई यहीँ भित्रबाट चलाउँछ,' सञ्चारकर्मीसमेत रहेका गाउँले राजेन्द्र कुँवरले सूचना दिइराख्दा धनमती र कर्णबहादुर मुन्टोमात्रै हल्लाइरहन्थे । १ बजे श्रमसचिव सोमलाल सुवेदीलाई भेटेर अमरलाई बचाउनका लागि पहल गरिदिन भन्दै ज्ञापनपत्र बुझाए । यो मन्त्रालयले कामदारसँग सम्बन्धित सरोकार राख्छ । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न सकिन्छ कि भनेर प्रधानमन्त्री कार्यालय पुगे । 'सिंहदरबारभित्रको सबैभन्दा ठूलो घर प्रधानमन्त्रीको रहेछ,' उनी दंग परे । धनमतीको अनुहार भने हल्का खुलेको देखिन्थ्यो । उनीहरू पुग्दा समय मिलाउन दार्चुलाका सभासद जोशी पहिल्यै पुगिसकेका रहेछन् । दुई घन्टा बस्दा पनि प्रधानमन्त्री आउने सम्भावना नभएको स्वकीय सचिवालयले सूचना दिएपछि उनीहरू परराष्ट्र मन्त्रालयतिर लागे । जहाँ पूर्वमन्त्री बडूले निमित्त सचिव अर्जुनबहादुर थापासँग समय मिलाएका थिए । 'अमरका बुबा र श्रीमती', बडूले परिचय दिँदै भने, 'अमरलाई बचाउन परराष्ट्रको भूमिका प्रभावकारी देखिएन ।'
यूएईका तत्कालीन राजदूत थापाले अमरको विषयमा सबैभन्दा बढी आफू जानकार रहेकाले उनलाई बचाउन प्रधानमन्त्री र राष्ट्रपतिको तहबाटै पहल थाल्नपुर्ने बताए । 'बरु, तपाईहरूले भन्नुभयो भने म प्रधानमन्त्रीकै तहमा कुरा राख्छु । फेरि अब केही समयपछि यूएईका परराष्ट्रमन्त्री आउँदै छन् । त्यसबेला द्विपक्षीय वार्तामा एजेन्डा बनाउँछु ।' उनीहरू आशा लिएर परराष्ट्रबाट बहिरिँदा ५ बजिसकेको थियो ।
मंगलबार बिहान १० बजे अमर बचाउ अभियान सचिवालयमा उनीहरूले क्रियाशील मानवअधिकारकर्मीहरूसँग छलफल गरे । छलफललगत्तै एक दर्जन जति मानवअधिकारकर्मीले संयुक्त वक्तव्य निकाल्दै सरकारको ध्यानाकर्षण गराए । त्यसपछि उनीहरू राष्ट्रिय मानवअधिकार आयोग पुगे । आयोगका प्रवक्ता गौरी प्रधानले अमरको जीवन रक्षाका लागि सरकारलाई अनुरोध गर्ने बताएपछि धनमती र कर्णबहादुर हिमालयन टीभीमा अन्तर्वार्ता दिन पुगे । अन्तर्वार्ता सकेर नेपाल बार एसोसिएसन, यूएन वुमनको कार्यालय पुगे । सबैबाट सहयोग गर्ने प्रतिबद्धता पाएपछि उनीहरूको मन हलुका भयो ।
बुधबार राष्ट्रपतिले भेट्ने समय दिएका थिए । धनमतीले राष्ट्रपतिको अनुहार देखेकी पनि थिइनन् । कहाँ बस्छन्, के गर्छन्, कस्ता होलान् भन्ने उनलाई लागिरहेको थियो । 'गाउँमा हेर्न टीभी पनि छैन,' धनमती भन्दै थिइन् । कर्णबहादुरले भने राष्ट्रपति निर्वाचित भएको बेला झुलुक्क देखेका रहेछन् ।
दुई बजेको समय दिएकाले एक बजे उनीहरू राष्ट्रपति भवन शीतल निवास पुगे । सबै प्रक्रिया पुर्याएर एउटा कोठामा पुर्याए । जहाँ कर्मचारीले राष्ट्रपतिसँग गर्ने व्यवहार सिकाए । साथमा दर्चुलाका सभासद, पूर्वमन्त्री, मानवअधिकारकर्मी पनि थिए । राष्ट्रपति बस्ने कुर्सीको दायाँ भागको पहिलो र दोस्रो कुर्सीमा क्रमशः धनमती र कर्णबहादुरलाई राखिएको थियो । 'हजुर अमर मेरो मात्रै छोरो होइन । हजुरको पनि हो । तपाईंले बचाइदिनुपर्यो,' कर्णबहादुरले आफ्नो बिन्तीपत्र राष्ट्रपतिसमक्ष चढाए । राष्ट्रपति यादवले अमरको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने र परराष्ट्रसचिवलाई जीवन रक्षा गर्न सरकारले चाल्नुपर्ने कदमको विषयमा सोध्ने बताए ।
राष्ट्रपतिको कुरा सुनेर खुसी भएर गेटमा आउन नपाउँदै प्रधानमन्त्रीले पनि भेट्न चाहेको खबर आयो । संविधानसभा भवनमा रहेको विशेष समितिको कार्यालयमा ४ बजे बोलाए । त्यहाँ एक घन्टा बसेपछि प्रधानमन्त्रीसँग भेट भयो । त्यतिखेरसम्म आइपुग्दा धनमती निकै दरिलो भइसकिछन् । 'तपाईं आफ्नो बहिनीलाई जति माया गर्नुहुन्छ । मलाई पनि बहिनी नै सम्झी मेरो श्रीमान्को जीवन रक्षा गरिदिनुपर्यो । मेरो मर्का तपाईंले बुझ्नुहुन्छ,' धनमतीले प्रधानमन्त्रीसमक्ष आफ्नो कुरा निर्धक्क राखिन्, 'विवाह गरेर लोग्नेको घर आइयो । उहाँलाई पर्खेर बसेको १० वर्ष भयो । अब म माइती कसरी जाऊँ ?'
प्रधानमन्त्री पनि गम्भीर देखिए, 'यसबारे मैले पत्रिकामा पढेर जानकारी पाएको थिएँ । आज तपाईंहरू औपचारिक रूपमा आउनुभयो । यसलाई गम्भीर ढंगले पहल गर्छु । जे सम्भव हुन्छ । सबै उपाय प्रयोग गरेर उहाँको जीवन रक्षा गर्छु ।' प्रफुल्ल मुद्रामा बाहिर आएका दुवैजना सञ्चारकर्मीहरूलाई अन्तर्वार्ता दिन व्यस्त भए ।
बिहीबार बिहान दिउँसो उनीहरू कान्तिपुर कम्प्लेक्समा भेटिए । कर्णबहादुर आँखा जचाएर आएका थिए । 'पशुपतिको पनि दर्शन गरियो', कर्णबहादुरले भने, 'गाउँमा आफन्तको मृत्यु भएको खबर आएकाले पूजा गर्न भने पाएनौं ।' अब डाक्टरले आँखाको अप्रेसन गर्नुपर्छ भनेको छ । एक हप्ता बस्नुपर्छ जस्तो छ । अघिल्लो दिन राष्ट्रपति र प्रधानमन्त्रीले दिएको आश्वासनले उनीहरूमा खुसीको सीमा थिएन । 'अब त छोरो पक्का आउँछ,' कर्णबहादुर हौसिए, 'राष्ट्रपति, प्रधानमन्त्रीले गर्छु भनेका छन् । निकै आशा लागेर आएको छ ।' धनमतीको अनुहारमा पनि बेग्लै उत्साह थियो । 'राष्ट्रपति पनि हामीजस्तै सामान्य रहेछन्,' भनिन्, 'सुरुमा कस्ता होलान्जस्तो लागेको थियो । आखिर हामीजस्तै रहेछन् ।'
त्योभन्दा बढी अब अमर छिट्टै घर आउँछन् भन्नेमा उनी खुसी थिइन् । अमर घर आए, बोकाको बलि दिउँला भनेर धनमतीले गाउँको केदार देउतालाई भाकल राखेको ६ वर्ष भइसकेको रहेछ । यो बीचमा २ वटा भाकल गरेको बोका परिवर्तन गरिसकेकी छन् । 'पछिल्लोपटक भाकल राखेको बोका पनि दुई वर्ष भइसकेको छ । यसपटकको बोका बेच्नुपर्दैन जस्तो छ,' धनमतीले खुसी हुँदै भनिन्, 'अब भने पक्कै केदार देउताले बलि पाउँछन् ।'
http://www.ekantipur.com/nep/2069/1/31/full-story/347705.html