नेपालका प्रधानमन्त्री र हवाई दुर्घटना (Sept. 24, 2006)
समयले साथ नदिएकै त भन्नु पर्छ यसलाई कि जब जब उनी नेपालका प्रधानमन्त्री, त्यही बेलामा नै नेपालमा पहिरोको प्रकोप पर्छ, बाढीले देश बगाउँछ र आकासमा जहाजहरु पड्कन थाल्छन्।सत्ता बाहिर उहाँ हुँदा बरु त्यति कोलाहल मच्चिदैन नेपालमा। उनको योग्यता माथि उनका दाइले शंखा किन गरे, मलाई थाह छैन। मैले बिपि लाई देखिन, तर जिपिलाई देखेर पनि चिन्न सकिन। व्यक्तिगत रुपमा म जिपिलाई मन पराउँदिन। म जिपिको बिरोधी हुँ भन्नेमा मलाई शंखा छैन।
ती दिनहरु सम्झन्छु जब म ती १९ दिने आन्दोलनका क्रममा कहिले गंगबु त कहिले चावहिलमा हुन्थें आन्दोलनमा भागलिनको लागी। त्यतिखेर म कुनै पार्टी वा कुनै संगठनबाट नभएर एउटा नेपालीको रुपमा त्यहाँ उप्स्थित थिएँ। मेरो घर वरपरको वातावरण भनेको राजावादी थियो। पूरै टोलमा मुस्किलले २० जना बाहिर निस्केरै राजाको विरोध गर्थे होलान्। प्राय मेरा सबै समकक्षी साथीहरु आन्दोलनका विरोधीहरु थिए। यस्तोमा एउटा आन्दोलनलाई सपोर्ट गर्ने व्यक्तिको रुपमा मलाई सधैं एउटा प्रश्न साथीहरु सोधीरहन्थे- "यो आन्दोलन किन?गिरिजालाई प्रधानमन्त्री बनाउन?" म जवाफ दिन्थें-" पहिलेको भष्ट गिरिजालाई होइन, एउटा त्यस्तो नेतालाई प्रधानमन्री बनाउन जसले राजाका गलत कदमको कुनै पनि रुपमा समर्थन गरेन। गिरिजाको इतिहास नराम्रो होला, तर वर्तमानमा नेपालको एकमात्र सक्षम नेता भनेको ऊ नै हो।"
१९ दिन बित्यो। आन्दोलन आंशिक रुपमा सफल भयो। आशिंक यस कारण कि म राजा फालिएको दिन मात्र आन्दोलन पूरा सफल भएको मान्छु। गिरिजा प्रधानमन्त्री भए। मेरा राजाबादी साथीहरु त चुप लागे, तर म पनि आज अवाक भएको छु। हेलिकप्टर पड्कनुमा गिरिजाको दोष नहोला तर यो पड्काईले मलाई किन किन जनआन्दोलन भाग-२ अगाडी कै गिरिजा शासन याद आइरहेछ।
गिरिजाको शासनमा पहिले भए जस्तै हवाई दुर्घटना फेरी भयो। उनकै शासनकामला तत्कालिन राजाको हत्या भएको थियो। त्यो घटना पनि फेरि दोहोरिए देखिन् भने नेपाललाई त चाकको पिलो फुटेको जस्तो आनन्द हुने थियो नै, मेरा लागि पनि गिरिजा सघैंको लागी सर्वमान्य नेता हुन्थें।