|
दशैंलाई फर्किंदै विस्थापित
|
रामेश्वर बोहरा |
माओवादीले लखेटेको आठ वर्षपछि दशैँ मनाउन घर फर्किंदै गरेका अक्कलबहादुर शाही १९ असोजमा नेपालगञ्ज आइपुग्दा खुसीले गद्गद् थिए। कहिले सुर्खेत, कहिले नेपालगन्ज र कहिले भारतका विभिन्न शहरमा काम गरेर परिवारको गुजारा गरिरहेका जुम्ला, कालिकाखेत–६ का शाहीले हिमाल सँग भने, “आठ वर्षपछि आफ्नै घरमा दशैं मनाउन पाइने भो, योभन्दा खुसी के होला?” जुम्लामा खेतीपाती गरेर जीविका चलाउने शाही माओवादीले भनेको नमान्दा कुटाइ समेत खाएर सपरिवार गाउँबाट लखेटिएका थिए। विस्थापित अवस्थामै जन्मेको छोरा विमल ६ वर्ष पुगिसकेको छ, जो घर फर्कन पाउँदा सबैभन्दा खुसी देखिन्थ्यो (हे तस्बिर)।
कालिकाखेतकै सयरुप शाही पनि त्यतिकै समयको अन्तरालमा दशैँको मुखमा घर फर्केका छन्। उनको परिवार दाजुले काङ्ग्रेसको राजनीति गरेको रिसमा माओवादीको तारो बनेको र गाउँबाट लखेटिएको थियो। शाही भन्छन्, “सात वर्षसम्मको दशैँ, दशैँजस्तै भएन। यसपालि माओवादीले पनि आऊ भनेका छन्, राम्रो होला भन्ने आश छ।” श्रीमती मैनकला शाही थप्छिन्, “अब कहिल्यै घर छाडेर भाग्नु नपरोस्।”
अनौपचारिक क्षेत्र सेवा केन्द्र 'इन्सेक', रेडक्रस र सेभ द चिल्ड्रेनको सहयोगमा १९ असोजमा घर फर्किएका जुम्ला, कालिकाखेतका ४६ जनाको यसपालिको दशैँ साँच्चै सुखद् हुने भएको छ। माओवादीको १० वर्षे युद्धमा हजारौं मानिस यसरी नै घर छाडेर विस्थापित भएका र आफ्नै देशभित्र 'शरणार्थी' बनेर दुःख पाएका थिए। तर, माओवादी शान्तिप्रक्रियामा आएपछि विस्थापितहरूमा विस्तारै डरत्रास हट्दै र घर फर्कने वातावरण बन्दैछ। कतिपय ठाउँमा उनीहरूलाई घर फर्काउन माओवादी आफैँ तयार भएका छन्।
नेपालगन्जबाट गैरसरकारी संस्थाहरू इन्सेक र बिग्रुपले जुम्ला, मुगु, कालीकोट, बाजुरा, दैलेख र जाजरकोटका करिब १५ सय विस्थापितलाइ घर फर्काएका छन्। इन्सेकका अनुसार, मध्य र सुदूरपश्चिमका ९९४ परिवारका ५७३० जना विस्थापित अझै पनि घर फर्कन पाएका छैनन्। |