For those who do not visit
http://www.kantipuronline.com/Nepal Copy and pasted from :
http://www.kantipuronline.com/Nepal/sojhai.php#1
!!!!A must read !!!!
All thumbs UP!
तेस्रो पत्र
महामहिम श्री कोफी अन्नान
संयुक्त राष्ट्रसङ्घ ।
विषय ः हामी सुरक्षित छौँ भन्नेबारे !
त्यता लेबनान-इजरायलतिर कस्तो छ, यता हाम्रो देशमा त गाईजात्रा छ, रमाइलो छ । हाम्रो देशमा दशौँ थान सरकारहरू देश निर्माणमा सक्रिय छन् । ती सरकारहरूमध्ये दुइटा सरकारले महामहिमलाई पत्र लेखेर आ-आफ्ना हतियार सुरक्षित गर्न खोजेको त महामहिमलाई अवगतै छ ।
पहिलो पत्र हाम्रो सरकार-१ ले खुसुक्क पठाएर सरकार-२ का हतियार ठेगान लगाइमागेछ । त्यो थाहा पाएर सरकार-२ ले पनि आफ्ना हतियार आफैँसँग राख्ने जिकिर गर्दै पठाएको अर्को पत्र महामहिमले पाउनु नै भो होला । दुवै सरकार हतियारले सुसज्जित भएर हामीलाई संविधानसभाको चुनावसम्म लान चाहन्छन् । हामी सरकारै सरकार र हतियारै हतियारमाझ सुरक्षित छौँ भन्ने जानकारी गराउन यो तेस्रो पत्र पठाएका छौँ महामहिम !
महामहिम ! सरकार-३ पनि हाम्रै लागि सत्तामा टाँस्सिइरहन चाहन्छ । सत्तालाई अपुताली नै ठानेर सधैँ भत्ता खाइरहन इच्छा गर्छ । हाम्रो चिन्ता यति मात्र हो, सरकार-३ ले आफ्नु सत्ताबाट जेजति घोषणा गर्यो, त्यसबाट विगतमा गरेका पाप पखालिएको हुँदा फेर िपाप थपिने सम्भावनाबाट मुक्त भइदिए हुन्थ्यो ।
सरकार-४ साह्रै व्यस्त छ । आयोगमा बयान दिन आउनसम्म भ्याउँदैन । कसैले सोझो आँखाले हेर्यो कि ऊ त्यसलाई रक्षा गर्न उद्यत भइहाल्छ । हुँदाहुँदा अब त प्रहरी चौकीमै आक्रमण गरेर पुलिसलाई नै अपहरण गरेर कार्यालयभित्रै लगेर करेन्ट लगाई-लगाई 'रक्षा' गर्न थालेको छ । यस्ता शक्तिशाली सरकारहरूको संरक्षणमा छौँ हामी, हामी सुरक्षित छौँ महामहिम !
सरकार-५ संसार उल्टो घुमेको देखेर बिलखबन्दमा परेको होला । चोक्टा खान जाँदा झोलमा डुबेको सरकार-५ को खास हालत थाहा नपाउँदा हामी चिन्तित छौँ । हाम्रो आँशु पुछ्नका लागि केही न केही रचनात्मक कार्य सरकार-५ बाट पनि हुँदै होला भन्ने आशा छ ।
रक्सी खान नपाएर सडक जाम गर्नेहरू, कैद मिनाहा हुनुपर्ने माग राखेर जेल फुटाउने बलात्कारी र चोरहरू, दिनदहाडै लुटपाट मच्चाउँदै हिँडिरहेका लुटेराहरू- यी सप्पैको संयुक्त मोर्चाको सरकार-६ बाट हामी झन् बढी रक्षित छौँ ।
महामहिम, हाम्रो मुख्य डर भनेको यत्राविघ्न सरकारहरूले धेर सुरक्षा दिएर, धेर माया गरेर, धेर सुम्सुम्याएर, खेलाउँदाखेलाउँदै मार्ने पो हुन् कि भन्ने मात्र हो । ध्यानपूर्वक पर्यवेक्षण गरििदनुहोला ।
नेपाली जनता